रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाको दलेचौरमा ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन ।
गएराति दोलखाको मेलुङ गाउँपालिकाबाट रामेछापको दोरम्बा जाँदै गरेको बा ४ ख ७२२६ नम्बरको ट्रक सडकबाट करिब १८० मिटर तल खसेको दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाका वडा सदस्य मङ्गले थामीले जानकारी दिनुभयो ।
गाडी चालक दोलखाको शैलुङ गाउँपालिका ढुङ्गेका सुसन श्रेष्ठ गम्भीर रूपमा घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको वडा सदस्य थामीले बताउनुभयो ।
स्थानीयका अनुसार ब्रेक फेल भएर दुर्घटनामा परेको ट्रक पूर्ण रूपमा क्षति भएको छ । गम्भीर घाइते चालकको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यसअघि बिहीबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीमा शव पोस्टमार्टम गर्न काठमाडौँ लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको थिए ।