पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाउने सार्वजनिक लेखा समितिको निर्णय

जेष्ठ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाउने सार्वजनिक लेखा समितिको निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितता अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिको आज बसेको बैठकले पतञ्जली जग्गाबारे समितिमा परेको उजुरीका आधारमा हालसम्म गरेको अध्ययन र प्राप्त विवरणसहित अनुसन्धानका लागि अख्तियारमा पठाउने निर्णय गरेको हो । 

अघिल्लो वर्ष समितिमा पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भन्दै उजुरी परेको थियो । जसमा समितिले सम्बन्धित निकायसँग कागजात मगाउने निर्णय गरेको थियो । यसबारे अनुसन्धान गरिरहेको अख्तियारलाई नै निर्देशन दिने निर्णय समितिले गरेको हो ।

यसअघि समितिको बैठकमा उजुरीबारे छलफल भइरहेका बेला सभापति ऋषिकेश पोखरेल र नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीबीच भनाभन भएको थियो । सभापति पोखरेलले विपक्षी दलका सांसदहरूलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएपछि भनाभन भएको हो । समिति सभापति विपक्षी दलको हुनुपर्नेमा सत्तापक्षकै भएकाले समितिमा सरकारको छाया परेको र विपक्षीलाई बोल्न नदिएको आरोप सांसद मोदीको थियो ।

संसदीय समितिको हिजोको बैठकमा पनि सांसदहरूबीच भनाभन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.