मानव तस्करसँग साँठगाँठको आरोपमा सहसचिव तिर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा

प्रतिव्यक्ति ४० हजारसम्म असुलेर भिजिट भिसामा मानिस पठाउने गरेको उजुरी
जेष्ठ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मानव तस्करसँग साँठगाँठको आरोपमा सहसचिव तिर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा

काठमाडौं । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छट्नु भएको छ । अख्तियारले भट्टराईलाई हिजो साँझ कागज गराएर छोडेको हो । 

उहाँलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उहाँलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रूपमा गृह मन्त्रालयमा तानिनु भएको थियो । हिजो अख्तियारले भट्टराईलाई विमानस्थलस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

अख्तियार स्रोतका अनुसार भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रूपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबई लगायत मुलुकमा भिजिट भिसामा मानिस पठाउने गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो । 

आयोगले विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराइले प्रयोग गर्ने कम्प्युटर र मोबाइलसहित केही उपकरण पनि नियन्त्रणमा लिएको छ । भट्टराईको घरमा पनि अख्तियारले छापा मारेको छ। 

त्यस्तै सहसचिव भट्टराईलाई प्रभावित पारेर व्यक्तिलाई विदेश पठाउने गरेको आरोप लागेका अन्य चार जनाको पनि मोबाइल र उपकरण नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

विमानस्थलबाट भिजिट भिसामा विभिन्न देश जान आवश्यक कागजात तोकिएको छ । नेपालबाट जाने र फर्किने हवाइ टिकट, बस्ने होटल, आफन्त लगायतका विवरण खुल्ने कागजात देखाउनु पर्ने निर्देशिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.