काठमाडौं । प्रतिनिधि सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । विपक्षी दलका सांसदहरूले चर्को विरोध गरेका छन् भने सत्तापक्षका सांसदहरूले बचाउ गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरूले झन्डै दुईतिहाइको सरकारको नीतिले लय गुमाएको र जनअेपक्षाको सम्बोधन गर्न नसकेको दाबी गरेका छन् । राष्ट्र निर्माणको संकल्प नआएको र औचित्य समेत गुमाएको विपक्षी सांसदहरूको आरोप छ ।
सत्तारुढ दलका सांसदहरूले नीति तथा कार्यक्रमले सुशासन, विकास-निर्माण लगायतका कामलाई मार्गनिर्देश गरेको बताएका छन् ।
यसअघि आकस्मिक समयमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले रेशम चौधरी पक्राउ प्रकरणमा छानबिनको माग गरेका छन् । उनीहरूले यस विषयमा रुलिङको माग गर्दै केही समय विरोध समेत गरेका थिए । सभामुखले सरकारको ध्यानाकर्षण गराएको र उपयुक्त समयमा जवाफ दिन निर्देश गरेपछि बैठक अगाडि बढेको थियो । अहिले नीति कार्यक्रममाथिको छलफल जारी छ ।