प्रहरीले दुर्गा प्रसाईंलाई काठमाडौं ल्यायो, अदालतबाट आजै म्याद थप गराउने तयारी

चैत्र २९, २०८१ |रमेश धमला
प्रहरीले दुर्गा प्रसाईंलाई काठमाडौं ल्यायो, अदालतबाट आजै म्याद थप गराउने तयारी
Pic

काठमाडौं । राजावादीले चैत १५ गते काठमाडौंमा गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको छ । प्रसाईंलाई विमानमार्फत् काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाईंलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । त्यसलगत्तै हतकडीसहित चन्द्रगढी विमानस्थल पुर्‍याइएको हो । विमानमा चढाइसकेपछि भने हथकडी खोलिएको थियो । तर, काठमाडौं विमानस्थलमा ल्याएपछि प्रसाईंलाई पुनः हथकडी लगाएर काठमाडौं जिल्ला परिसरमा पुर्‍याइएको छ । प्रसाईंलाई आजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।

चैत १५ गतेको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको झापा भद्रपुरबाट नियन्त्रणमा लिएको प्रहरीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यसअघि हिजो प्रसाईं नियन्त्रणमा लिएको हल्लाको खण्डन गर्दै साँझ प्रहरीले विज्ञप्ति जारी गरेको थियो ।

चैत १५ को राजावादीको प्रदर्शनका क्रममा भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने प्रसाईंका समर्थकले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । 

त्यस्तै, सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो भने १ सय २९ जना घाइते भएका थिए । पाँच जना अझै अस्पतालमा छन् ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणासहितलाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।