फलाक नाका खुलाउने तयारीमा चिनियाँ पक्ष

चैत्र २७, २०८१ |केदार शिवाकोटी
फलाक नाका खुलाउने तयारीमा चिनियाँ पक्ष

दोलखा । दोलखाको विगु-१ चीनसँग सीमा जोडिएको फलाक नाका कुनै समयको व्यापारको मुख्य नाका थियो । चीन, नेपाल र भारत जोडने मुख्य पुरानो व्यापार मार्ग बन्द भएको तीन दशक बितिसक्यो । तातोपानी नाका खुलेपछि पूर्वाधार अभावमा यो नाका ओझेलमा पर्‍यो । तर हालसालै चीनको रोङसियामा भएको सीमा बैठकमा चिनियाँ पक्षले वर्षौ पुरानो परम्परागत यो नाकाबाट पुनः व्यापार गर्ने चासो देखाएको छ ।

कुनै समय भोटको नुन लिन जाने फलाक नाकाबाट त्रिदेशीय व्यापार हुन्थ्यो । दोलखाको विगु गाउँपालिका-१ मा पर्ने फलाक नाकाबाट हुने व्यापारको राजश्व उठाउन २०२५/२६ सालमा लामाबगरमा भन्सार कार्यालय रोखिएको छ । त्यो अझै छ । हाल उक्त नाका चिनियाँ पक्ष नै खुलाउने तयारीमा छ । जसका लागि चिनियाँ पक्षले रोङसियामा बजार बसाल्ने काम गरिरहेको छ । चैत दोस्रो साता रोङसियामा भएको सीमा बैठकमा चिनियाँ पक्षले आफूहरूले परम्परागत व्यापारिक नाका खुलाउन पूर्वाधार तयारीको काम अन्तिम चरणमा रहेको र नेपालतर्फ कस्तो तयारी छ भने जिज्ञासा राखेको थियो ।

परम्परागत व्यापारलाई निरन्तरता दिने भनेपछि नेपाली व्यवसायी उत्साही बनेका छन् । चिनियाँ पक्षले यो नाका खुलाउने भनिरहँदा नेपालतर्फ भने पूर्वाधारको काम निकै सुस्त छ । जम्मा ३ किलोमिटर सडक छिचोलिएपछि चिनियाँ नाका पुग्नसकिने अवस्था छ तर काम सुस्त छ ।

चिनियाँ पक्षले त्रिदेशीय व्यापारिक मार्ग निमार्णको चासो राखेर धमाधम पूर्वाधार बनाइरहे पनि नेपालतर्फको भन्सार, सीमा प्रशासन र बीओपी त्यस क्षेत्रमा कहिले बन्छ अझै यकिन छैन । फलाकबाट दोलखा हुँदै मधेश प्रदेश र भारत छुने छोटो मार्ग ३ किलोमिटर सडक छिचोल्ने पूर्वाधारको कामको कहिले सुरु हुन्छ यकिन छैन । चिनियाँ पक्षले पुरानो परम्परागत व्यापारिक मार्ग खुलाउने चासो राखेर पूर्वाधार तयार पार्दा नेपालतर्फ भने अझै अन्योल छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।