सञ्चारगृहहरूमा भएको आक्रमणको नेपाल मिडिया सोसाइटीद्वारा निन्दा

दोषीलाई कारबाही गर्न माग
चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सञ्चारगृहहरूमा भएको आक्रमणको नेपाल मिडिया सोसाइटीद्वारा निन्दा

काठमाडौं । राजावादी समूहको प्रदर्शनको क्रममा सञ्चारगृहहरूमा भएको आक्रमणको नेपाल मिडिया सोसाइटीले निन्दा गर्दै अपराधीहरूमाथि तत्कालै कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘लोकतान्त्रिक गणतन्त्रले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति, संगठन र सभा–सम्मेलन गर्ने स्वतन्त्रतामाथि कथित व्यवस्था परिवर्तनको नाममा अराजक समूहले खुलेआम गरेको आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सोसाइटीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको नाममा भएको प्रदर्शनले सञ्चारगृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको छ । शुक्रबार अन्नपूर्ण पोस्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमाथि गरिएको सांघातिक हमलालाई नेपाल मिडिया सोसाइटीले कडा निन्दा गर्दै अपराधीहरूमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछ ।’

व्यवस्था परिवर्तनका नाममा सञ्चालित अराजक समूहका भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन, सार्वजनिक सुपरमार्केटदेखि राजनीतिक दलका कार्यालय र सरकारी संस्थानहरूमाथि गरिएको हिंसा र लुटपाटले प्रदर्शनकारी र तिनका नेतृत्वकर्ताहरूको चरित्र उजागर भएको सोसाइटीको भनाइ छ । शान्तिपूर्ण रूपमा कसैले पनि प्रदर्शन, भेला वा सभामार्फत आफ्ना गुनासो, माग र आक्रोश व्यक्त गर्न पाउने अधिकारलाई बहाना बनाई यसको दुरुपयोग गर्ने र सूचना प्रवाहमा बाधा पुर्‍याउन सञ्चारमाध्यमहरूमाथि गरिएको आक्रमणलाई कुनै पनि आधारमा जायज ठहर्‍याउन नसकिने बताएको छ ।

तसर्थ, सचेत नागरिक, जिम्मेवार राजनीतिक दल, सञ्चारकर्मी तथा व्यवसायीहरूलाई लोकतान्त्रिक व्यवस्थाको सुव्यवस्था र जवाफदेहितालाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा यस्ता हिंसात्मक घटनाप्रति सतर्क रहन आग्रह गरेको छ । साथै, शुक्रबार राजधानीमा सञ्चारगृह, राजनीतिक कार्यालय, सुपरमार्केट र निजी भवनमाथि गरिएको हिंसाको जिम्मेवारी आयोजकले लिँदै कानुनी कारबाहीको सामना गर्नुपर्ने माग समेत राखिएको छ ।

पत्रकारहरूको पेशागत सुरक्षा, सूचना संकलन–प्रकाशन स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन नेपाल सरकारसँग अपिल गर्दै यस घटनासँग जोडिएकाहरूमाथि तत्काल कानुनी कदम चाल्न सोसाइटीले जोड दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.