काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिनुभएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनभिज्ञ रहेको बताउनुभएको हो ।
आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताउनुभयो । उहाँले शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गर्नुभयो । किन राजीनामा दिनुभएको हो भन्नेबारे औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री भट्टराईले भन्नुभयो, “हिजो बिदाको दिन भयो । त्यस कारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौं । समितिलाई जानकारी गराउनेछौं ।”
बरालले शनिबार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिनुभएको थियो । उहाँले बिरामीको कारण देखाउँदै राजीनामा दिनुभएको हो ।