काठमाडौं । सरकारले पुर्व राजाका समर्थकले गरेको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधिको छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
शुक्रबार अबेर राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रर्दशनको क्रममा भएको अमानवीय क्रियाकलापको घोर भत्र्सना गर्दै सो क्रममा मृत्यु भएका व्यक्ति प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
बैठकले घाईतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरेको छ । त्यसैगरी शुक्रबारको घटनामा भएको जनधनको क्षतिको सत्य तथ्य पत्तालगाई दोषीलाई कारवाही गर्न र यस्ता घटना भविश्यमा हुन नदिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को बैठकको बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले म्यानमार र थाईल्याण्डमा गएको विनासकारी भुकम्पबाट भएको धनजनको क्षति प्रति गहिरो दुख व्यक्त गरेको जानकारी दिनुभयो ।
शुक्रबार काठमाडौंमा राजावादी र समाजवादी मोर्चाले प्रर्दशन आयोजना गरेका थिए । राजावादीहरु सुरुमै ढुंगामुडा र अराजक गतिविधिमा उत्रिएपछि उनीहरुको औपचारिक कार्यक्रम हुन सकेन ।
सो क्रममा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको छ । समाजवादी मोर्चाले भने शान्तिपुर्ण रुपमा कार्यक्रम सम्पन्न भएको थियो । राजावादीले तीनकुने र समाजवादी मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका थिए ।