घरधन्दा भ्याएर कक्षा कोठामा महिला, नातिनातिनासँगै एक घण्टा हिँडेर पुग्छन् विद्यालय

१४ आमा ३ कक्षासम्मको परीक्षा तयारीमा
चैत्र ३, २०८१ |भीमलाल श्रेष्ठ
घरधन्दा भ्याएर कक्षा कोठामा महिला, नातिनातिनासँगै एक घण्टा हिँडेर पुग्छन् विद्यालय

गोरखा । सामान्यतया १ देखि ३ कक्षासम्म ५ देखि ७ वर्ष उमेर समूहका बालबालिका पढ्छन् । गोरखाको पोखराथोकस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा भने बालबालिका मात्र होइन ३५ देखि ५७ वर्ष उमेरका आमाहरू समेत पढ्छन् । उमेर छँदा विभिन्न कारणले पढ्न नपाएका आमाहरू अहिले परीक्षाको तयारीमा जुटेका छन् ।

गोरखा नगरपालिका- ६ पोखराथोकस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा घण्टी बज्नासाथ गेटबाट बालबालिकासँगै हातमा किताब च्यापेका गृहिणी महिलाको पनि प्रवेश हुन्छ । उनीहरू बच्चा पुर्‍याउन आएका भने होइनन् । उनीहरू त यसै विद्यालयका विद्यार्थी हुन् । घरबाट झन्डै १ घण्टाको बाटो हिँडेर विद्यालय आउनुहुने वर्ष ५७ कि रातथानी गुरुङ आफ्ना नातिनातिना उमेरका बालबालिकासँगै १ कक्षामा पढ्नुहुन्छ ।

विद्यालयमा पढ्न आउने आमाहरूमा ३५ देखि ५७ वर्षसम्मका १४ जना छन् । कसैलाई अक्षर चिनेर मोबाइल नम्बर, गाडीको नम्बर र ठाउँका नाम पढ्नसक्ने बन्ने इच्छा छ । कोही आफ्नो छोराछोरीलाई घरमा गृहकार्य सिकाउन नसक्दा पढाइको अभाव खड्किएर पढ्न आएका छन । १, २ र ३ कक्षाका विभिन्न कक्षामा पढिरहेको आमाहरू अहिले यही चैत पहिलो सातादेखि हुने परीक्षामा लागेका छन् ।

विगतमा ५ कक्षासम्म रहेको यो विद्यालयलाई गत वर्षदेखि ३ कक्षासम्म मात्रै कायम गरिएको छ । बालबालिका र गृहिणीलाई एकैठाउँ राखेर पढाउँदा शिक्षकहरू समेत नौलो अनुभूति गर्नुहुन्छ ।

२०५६ सालमा स्थापना भएको यस विद्यालयमा ईसीडीदेखि कक्षा ३ सम्म बालबालिका र गृहिणी समेत गरी हाल ३२ जना विद्यार्थी अध्ययनरत छन् ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement