परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

फाल्गुन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरूबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री राणाले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय २९ औं सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

नेपाल र अजरबैजान नाम र जी ७७ संगठनका सदस्यका रूपमा विकासशील देशहरूका समस्याहरू साझा रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका मन्त्री राणाले बताउनुभएको थियो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउने बताउनुभयो ।

साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement