दाङ । दाङको तुलसीपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२, टरिगैंस्थित मंगलम बालुवा प्रशोधन उद्योगको परिसरमा करेन्ट लागेर सल्यानको कपुरकोट गाउँपालिका–१, लापुका २१ वर्षीय समीर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रवक्ता शाहका अनुसार बिहीबार दिउँसो बालुवा लोड गर्ने क्रममा नजिकै रहेको क्रसरको मेनलाइन छुन गई मगरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिए लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि टिपर धनी कतुलसीपुर– १९ का गणेश घर्ती मगर र टिपर चालक तुलसीपुर–१६, का श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।