राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच शीष्टाचार भेट

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच शीष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

“जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिनुभयो । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन गईरहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ भन्नुभयो । साथै उहाँले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गर्नुभयो ।

नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित आजै काठमाडौँ आउनुभएको हो । सो शीष्टाचार भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफीया, नेपालका लागि बेलायती राजदूत सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.