दार्चुला । महाकाली नगरपालिका-५ किम्तडीस्थित भिरमा सुक्खा पहिरो खसेपछि चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध छ ।
सदरमुकामको नजिकै रहेको सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार बिहान सडक चौडा पार्ने क्रममा सुक्खा पहिरो खस्दा कटिङ् गरिरहेको मेसिनसमेत पहिरोमा परेको थियो ।
अन्य एक्साभेटर पनि जान नसकिरहेको र बाटै पुरिएकाले यात्रुलाई समस्या भएको महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्रीले जानकारी दिनु भयो । उहाँले अहिले वैकल्पिक बाटो मार्फत यात्रुले कठिनसाथ यात्रा गर्नु परिरहेको जनाउनु भयो ।
उपप्रमुख खत्रीले सडक डिभिजन कार्यालय वैतडीलाई बाटो खुलाउनका लागि पटक-पटक आग्रह गर्दा पनि त्यहाँबाट समेत सहयोग पाउन नसकेको जनाउनु भयो । सुक्खा पहिरोकै डरले कुनै पनि चालकले एक्साभेटर लैजान नमानेपछि पहिरो कसरी पन्छाउने भन्ने समस्या ज्युँकात्युँ रहेको उहाँको भनाइ छ ।