दाङ । खराब सडक, चालकको लापरवाही र फितलो अनुगमनका कारण दाङमा सवारी दुर्घटना र त्यसबाट हुने क्षतिमा कमी आउनसकेको छैन । ५ वर्षमा १३ सय सवारी दुर्घटना हुँदा ५ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न सरोकारवालाले सक्रियता बढाएको दाबी गरिरहँदा तथ्यांक भने निराशाजनक छ ।
चिसो मौसम, बाक्लो हुस्सु, साँघुरा र जीर्ण सडक, तीव्र गतिका कारण दाङमा हिजोआज दिनहुँ सवारी दुर्घटना हुने गरेका छन् । पछिल्लो दुई महिना मंसिर र पुसमा मात्रै सानाठूला गरी १ सय २३ सवारी दुर्घटनामा २१ जनाको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीका अनुसार दुर्घटनामा पर्ने र मृत्युहुनेमा मोटरसाइकल प्रयोगकर्ता बढी छन् ।
प्रहरीको भनाइलाई आधार मान्ने हो भने दाङमा दिनहुँ सानाठुला २० हजार सवारी गुड्छन् । दिनहुँजसो नै दुर्घटना हुने गरेका छन् । दुर्घटनापछि घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउने र कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने त छँदैछ मृतकका परिवारले क्षतिपूर्तिको माग राख्दै गर्ने आन्दोलन, सडक जामलगायतले प्रहरीलाई शान्ति सुव्यवस्था कायम गरी सडक सुचारु गर्न निकै सास्ती हुनेगरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमख अर्जुनप्रसाद तिमिल्सिना बताउनु हुन्छ ।
दुर्घटनाको मुख्य कारण साँघुरा र निर्माणाधीन अलपत्र सडक तथा तिव्रगति नै रहेको पाइएको छ । ३० महिनामा सक्नेगरी ६ वर्षअघि काम सुरु गरिएको घोराही-तुलसीपुर चार लेन सडक अलपत्र छ । ४ पटकसम्म म्याद थप गर्दा पनि भारतीय ठेकेदारले काम नगर्दा ठेक्का तोडियो । ठेक्का तोडेपछि सरकार आफैले मर्मत गरेको सडक जीर्ण बन्न थालिसकेको छ । हाल सरकारले नै निमार्ण गर्ने गरी ३ अर्ब ९९ करोडमा बहुवर्षीय योजनामा पारेर अर्थमन्त्रालयले बजेटको स्रोत सुनिश्चित गरे पनि काम अघि बढेको छैन ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना हुने र ज्यान गुमाउनेमा दाङ पहिलो नम्बरमा छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस २६ गतेसम्म ७ सय ४६ दुर्घटना हुदाँ १ सय ८५ जनाको मृत्यु भएको छ भने दाङमा मात्रै ४८ जनाको मृत्यु भएको छ । दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकारको योजना के छ त ?
‘दाङमा सडक र ओभर स्पिडका कारण दुर्घटनाहरू बढीरहेका छन् । यसका लागि हामीले सरोकारवाला नियकालाई बोलाएर यसमा कसरी न्यूनिकरण गर्न छलफल गर्दैछौं,’ लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भन्नुभयो ।
२०७५/०७६ देखि गत आर्थिक वर्षसम्मको तथ्यांकअनुसार दाङमा १३ सय बढि दुर्घटनामा परी पाँच सय ५० जनाको मृत्यु भएको छ । चालकको लापरवाही, सवारीसाधनको यान्त्रिक गडबडी, सडकको दुरावस्थाका कारण दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।