काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिनमै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पेरिस जलवायु सम्झौताबाट बाहिरिने निर्णय गरेपछि नेपाल जस्ता अल्पविकसित र जलवायु परिवर्तनको प्रभाव भोगिरहेका मुलुक प्रभावित हुने भएका छन् । अमेरिकाले डब्ल्यूएचओको कुल बजेटमा १६ प्रतिशत योगदान गर्दै आएको छ भने जलवायु कोषमा १० अर्ब डलरभन्दा बढी सहयोग गर्दै आएको छ । ट्रम्पको यो निर्णयले नेपाल सहित विश्वभर कस्तो असर गर्ला ?
अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिनमै पेरिस जलवायु सम्झौताबाट बाहिरिने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि विश्वभर चासो र चिन्ता सुरू भएको छ । अमेरिका आफैं कार्बन उत्सर्जन बढी गर्ने मुलुकमध्येको एक हो । यस्तो अवस्थामा अमेरिका पेरिस जलवायु सम्झौताबाट अलग हुनुले अन्य विकसित मुलुकहरू जलवायुजन्य क्षतिको भरण गर्न र कार्बन उत्सर्जन कम गर्नबाट पछि हट्न सक्छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकाले प्रतिवर्ष ६ हजार ३४३ अर्ब मेट्रिक टन कार्बन र ५ अर्ब मेट्रिक टन कार्बन डाइअक्साइड ग्याँस उत्सर्जन गर्ने गरेको छ । कार्बन उत्सर्जनमा उसको हिस्सा १४ प्रतिशत हाराहारी छ । अर्थात २८ वटा युरोपेली मुलुकले उत्पादन गर्ने कार्बनभन्दा दोब्बर अमेरिकाले मात्रै उत्सर्जन गर्ने गरेको छ । यस्तो अवस्थामा अमेरिका पेरिस जलवायु सम्झौताबाट अलग हुँदा प्रत्यक्ष प्रभाव पर्ने जलवायुविद् माधवबहादुर कार्की बताउनुहुन्छ ।
“विश्व त्यसै पनि जलवायु परिवर्तनका हिसाबले नराम्रो अवस्थामा गइरहेका बेला विश्व स्वास्थ्य संगठनले अमेरिकासँग संवाद गर्नुपर्यो र मध्यमार्गबाट समाधान आउँछ कि भनेर छलफलमा ल्याउनुपर्यो”, जलवायुविद् कार्कीले बताउनुभयो ।
राष्ट्रपति ट्रम्प पहिलो कार्यकालमा पनि जलवायु मुद्दामा सकारात्मक हुनुहुन्न थियो । पूर्वराष्ट्रपति बराक ओबामाले अघि सारेका दर्जनौं कार्यक्रम उहाँले कटौती मात्रै गर्नु भएन, पेरिस जलवायु सम्झौताबाट बाहिरिने निर्णय गर्नु भएको थियो ।
उहाँको पछिल्लो निर्णयसँगै सन् २०३० सम्ममा पूर्ववर्ती जो बाइडन सरकारको कार्बन उत्सर्जन ५० देखि ५२ प्रतिशत घटाउने निर्णयमा प्रत्यक्ष असर पर्ने देखिएको छ । सँगै जलवायुजन्य हानीनोक्सानी कोषमा हालसम्म बेहोर्दै आएको करिब ४० प्रतिशत हिस्ता कटौती हुने देखिन्छ । अमेरिकाले जलवायु कोषमा १०.६ अर्ब डलर सहयोग गर्दै आएको छ ।
“अमेरिकाको तर्फबाट विश्वव्यापी विनियोजन हुने जलवायुवित्तमा ठूलो असर पर्नसक्छ । त्यसको असर नेपाल जस्ता देशहरूमा पर्नसक्छ”, वन तथा वातावरणविज्ञ सनोत अधिकारीले बताउनुभयो ।
यति मात्र नभई ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अलग रहने आदेश पनि जारी गर्नु भएको छ । विश्वभरका नागरिकको स्वास्थ्य सुरक्षा तथा सुधारको क्षेत्रमा काम गर्ने डब्ल्यूएचओमा अमेरिकाले सबैभन्दा बढी अर्थात् कुल बजेटको १६ प्रतिशत योगदान गर्छ । यस्तै, डब्ल्यूएचओले खोपदेखि अनुसन्धानसम्मका लागि प्राविधिक तथा आर्थिक समेत सहयोग गर्छ भने स्वास्थ्यको नीति योजना बनाउन पनि विश्वभर सहयोग गर्ने गरेको छ । तर डब्ल्यूएचओको ठूलो दातामुलुक बाहिरिने निर्णयले ठूलो असर पर्न सक्ने स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. रमेशकुमार खरेल बताउनुहुन्छ जसको असर नेपाल जस्ता अल्पविकसित मुलुकमा पर्न सक्ने जनाइएको छ ।
डब्ल्यूएचओको उच्च तहमा कामगरिसक्नु भएका शम्भु आचार्यका अनुसार अमेरिकाको यो निर्णय डब्ल्यूएचओको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ र यो निर्णय कार्यान्वयनमा आउन एक वर्ष लाग्ने देखिन्छ । उहाँका अनुसार अमेरिकाले हात झिके पनि अन्य मुलकुले सहयोग गरेमा खासै ठूलो प्रभाव पर्ने छैन । यसैबीच, डब्ल्यूएचओले विज्ञप्ति जारी गर्दै ट्रम्पको निर्णयप्रति खेद व्यक्त गरेको छ । डब्ल्यूएचओले विश्वभरको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान गरेको स्मरण गराउँदै ट्रम्पले निर्णय पुनःविचार गर्ने विश्वास व्यक्त गरेको छ ।