बजारको चिन्ता नलिएर उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

माघ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजारको चिन्ता नलिएर उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको बजारको चिन्ता नलिई उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालका जलविद्युत् आयोजनामा स्वदेशी लगानीकर्तालाई नै प्राथमिकतामा राखिनेसमेत बताउनुभयो ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इपानको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले ठूला आयोजनामा पनि स्वदेशी लगानी बढाउनुपर्ने बताउनुभएको छ । उहाँले बिजुली खपतको चिन्ता लिनु नपर्ने दाबी गर्नुभयो ।

स्वदेशी उद्योगमा नै पर्याप्त बिजुली खपत गर्न सकिने उहाँको भनाइ छ । धौबादी फलामखानी जस्ता उद्योगमा ठूलो मात्रामा विजुली खपत गरिने र रासायनिक मलको उद्योग स्थापनाका लागि पनि पर्याप्त बिजुली चाहिने भएकाले ढुक्क भएर लगानी गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासका कामलाई तिब्रता दिन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको बताउनुभयो । संसद् छलेर अध्यादेश ल्याइएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले अब १५-२० दिनपछि संसद् बैठक बस्ने र दुई महिनाभित्रै अध्यादेश पारित गरिने जानकारी दिनुभयो ।

उहाँले विकासका लागि आवश्यक नीतिगत संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अन्य देशले ग्रिन हाइड्रोजनमा अध्ययन तिब्र गतिमा अघि बढाइरहेका बेला नेपाल पनि यसमा सम्भावनाको खोजी भइरहेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement