राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

माघ ४, २०८१ |बालकृष्ण अधिकारी
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले निर्माण गरिरहेको निजगढ-काठमाडौं द्रुतमार्गको आज निरीक्षण गर्नुभएको छ । राष्ट्रपति पौडेलले मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ मा निर्माणसम्पन्न भएको लेनडाँडा र धेद्रे सुरुङमार्ग अवलोकन सहित यात्रा गर्नुभएको हो ।

निजगढबाट ललितपुरको खोकनासम्म ७० किलोमिटर ९७७ मिटर लामो द्रुतमार्गमा ६ स्थानमा १०.३९ किलोमिटर सुरुङमार्ग पर्दछ । जसमध्ये लेनडाँडाको एक हजार ६१२ मिटर र धेद्रेको एक हजार ७२८ मिटर लामो सुरुङमार्ग निर्माणसम्पन्न भएको छ । यस्तै महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । 

द्रुतमार्गमा आधुनिक प्रविधिको आकाशे पुल समेत निर्माण गरिने नेपाली सेनाले जनाएको छ । निर्माणसम्पन्न लेनडाँडा र धेद्रे क्षेत्रमा आकाशे पुलको निर्माण कार्य भइरहेको छ । 

अनुगमनका क्रममा राष्ट्रपति पौडेललाई नेपाली सेनाले द्रुतमार्ग निर्माणको कार्यप्रगतिबारे पनि जानकारी गराएको थियो । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिनुभयो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement