बर्दिया । माघे संक्रान्तिको पूर्वसन्ध्यामा बर्दियाको थारुबहुल गाउँघर र बस्तीमा निकै रौनक छाएको छ । थारु समूदायको सबैभन्दा ठूलो चाड भएकाले माघीको स्वागतका लागि धुमधामले चलिरहेको तयारी अन्तिम चरणमा पुगेको छ । मुक्त कमैया बस्तीमा अचेल माघीलाई स्वतन्त्रता दिवसको रुपमा समेत मनाउन थालिएको छ ।
थारुबस्ती यतिखेर माघीको रौनक छ । कुल जनसंख्यामा ५१ प्रतिशत थारु समुदाय रहेको बर्दियाका बस्ती र गाउँघर काम, पढाइ र अन्य प्रयोजनले बाहिर गएकाहरु फर्किइसकेका छन् । हर्ष र उमंगका गीत र नाँचले गाउँघर गुञ्जायमान छन् ।
विगतमा जमिन्दारका घरमा पराधीन अवस्थामा छदा उन्मुक्त भई माघी मनाउन नपाएको समयको सम्झना गर्दै थारु समुदायले स्वाधीनताका गीतहरुसमेत गाइरहेका छन् । माघीमा थारुसमुदायले गच्छेअनुसार ढिकरी र घोंगीका परिकारसँगै सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गर्छन् ।
‘अब हामी खुल्ला भयौं । सरकाले खुल्ला गरिदिएकाले खुसी लागेको छ । हामी बुढाबुढी भए पनि हाम्रा बालबच्चाले यस्तो कार्यक्रम गर्न पाएका छन् । हामी खुसी छौं ।’ बर्दियाकी पूर्व मुक्तकमैया अस्तुनी थारुले भन्नुभयो ।
थारु समूदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्वको चाँड हो माघी । माघीबाट थारु समूदायको नयाँ वर्षको सुरुवात हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वंयसेवकलगायत गाउँका अगुवा चयन गरिन्छ ।
२०५७ सालअघि माघीका दिन आफ्ना छोरीचेलीलाई जमिनदारका घरमा कम्लहरि, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ गते कमैया प्रथा अन्त्य गर्यो । त्यसयता थारु समुदायको कलंकको रुपमा रहेको यो प्रथा हटेको छ । तर सरकारले मुक्त कमैयालाई आयआर्जन र जीविकोपार्जनका कामहरुमा संलग्न गराउन नसक्दा माघी पर्व सरकारको कमीकमजोरीमाथि व्यंग्य गर्ने उपयुक्त अवसर पनि बनेको छ ।