[अपडेट] चीनमा गएको भूकम्पमा परी ९५ जनाको मृत्यु, १ सय ३० जना घाइते

पुस २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] चीनमा गएको भूकम्पमा परी ९५ जनाको मृत्यु, १ सय ३० जना घाइते

काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु भएर ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल-चीन सीमाबाट नजिकै पर्ने चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित डिङ्गयी काउन्टीमा बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण डिङ्गयी काउन्टीको चाङ्गसुओ क्षेत्रका एक हजारभन्दा धेरै घरहरु भत्किएको र भग्नावशेषमा उद्धारको काम भइरहेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरुलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ । उहाँले घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल लैजान र विस्थापितलाई पुनस्थापनामा तत्परता देखाउन निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

भूकम्पको केन्द्रविन्दु रहेको तिब्बतको डिङ्गयी काउन्टी दक्षिणमा नेपालको संखुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो ।

भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा २ तथा संखुवासभामा एक घरमा क्षति पुगेको छ । उद्धार र राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरले बताउनुभएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीस्थित इलाका प्रहरी चौकीको भवनमा क्षति पुगेको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा पनि महसुस गरिएको थियो । तर अन्यत्र जिल्लामा क्षतिको विवरण आइसकेको छैन ।

नेपालमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट छिमेकी देश चीनमा भएको ठूलो क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement