काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ ।
बेपत्ता योद्धा राजेन्द्र ढकालको २६औँ स्मरण दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उहाँले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताउनुभयो ।
शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “शान्तिप्रक्रियालाई जटिल मोडमा पुर्याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ।”
शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उहाँले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्ने बताउनुभयो ।