सप्तरी । सर्वसाधारणसँग रकम लिएर डबल गरिदिने भन्दै लाखौं रकम ठगी गर्ने एक गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई प्रहरीले ठगी तथा अपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो । उनीमाथि सप्तरी जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रजकमाथि हालसम्म ४ जनाले उजुरी दिएको र ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । रजकका गिरोहले अरु व्यक्तिसँग पनि रकम डबल गरिदिने नाममा ठगी गरेको सूचना आएको प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।