धादिङ । सामान्यतया एउटा पक्की मोटरेबल पुल बन्न कति समय लाग्ला ? एक वर्ष कि दुई वर्ष ? तीन वर्षमा त पक्का सम्पन्न हुनुपर्ने हो ।
तर धादिङको सिद्धलेक गाउँपालिको आरुवासटार र बेनीघाट रोराङ गाउँपालिकाको मलेखु जोड्ने त्रिशुली नदीमा पक्की पुल निर्माण थालिएको सात वर्ष बित्यो, अहिलेसम्म एउटा मात्र पिल्लर निर्माण भएको छ ।
तीन वटा पिल्लर राखेर निर्माण गर्ने डिजाइन एस्टिमेट भएको पुलको बीचमा पिल्लरको थोरै भाग उठाइएको भए पनि एकातिर त पिल्लरको काम जमिनमुनि नै छ । काम रोकिएको पनि छैन । एक जना मजदूरले मात्र काम गरिरहेको दृश्यले यो पुलको अनिश्चिततालाई अझै बढाएको छ ।
नदीपारि पृथ्वी राजमार्ग छ । त्यहाँ कुदेका हजारौं सवारी साधन हेर्दै झोलुङ्गे पुल तरेर पैदल वारपार गर्नु पर्दा यहाँका नागरिकमा निराशा मात्र होइन सरकारी बेवास्ता र ढिलासुस्तीप्रति आक्रोस समेत बढाएको छ । पुल नहुँदा कृषि उपज बजारसम्म ल्याउन समस्या छ भने बिरामी हुँदा दुई मिनेटको बाटोमा एक घण्टा घुमेर एम्बुलेन्स लानुपर्ने अवस्था छ ।
सडक विभाग अन्तरगतको यो पुल महाशाखाले ठेक्का लगाएको भए पनि न निर्माण कम्पनीले केही बताउँछ न महाशाखाले नै जानकारी दिन्छ । निर्माण कम्पनी र महाशाखाको मौनताले स्थानीय जनप्रतिनिधि समेत आजित छन् ।
एउटा पुल बन्न सात वर्षले पनि पुग्दैन भने नागरिकले विकासमा कस्तो खालको अपेक्षा गर्ने ? को जवाफदेही हुने ? आम नागरिकले प्रश्न गर्ने वेला भएको छ ।