सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

पुस २१, २०८१ |ओमप्रकाश ठाकुर
सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ । रामनगर गाउँपालिका- ५ का वडाध्यक्ष शिवनन्दन राय यादव नेतृत्वको टोलीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

गएराति करिब नौ बजे रामनगर गाउँपालिका- ५ बैजनाथ चोकमा ट्राफिक प्रहरीले सवारी साधन र मापसे जाँच गर्ने क्रममा उत्पन्न भएको विवादले उक्त घटना भएको जनाइएको छ । 

स्थानीयको आक्रमणमा परेर अस्थायी ट्राफिक प्रहरी पोस्ट गडहियामा कार्यरत प्रहरी हबलदार सलिन्द्र रायको टाउकोमा गम्भीर चोट लागेको छ । उनको हाल न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार वडाध्यक्ष यादव नेतृत्वमा रहेका स्थानीयले राति सवारी जाँचमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गर्दा घटना घटेको हो । स्थिति तनावपूर्ण बनेपछी प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement