खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो। नागरिकता अभावका कारण उहाँहरुले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो ।
जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमाँया राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जनाइएको छ । यस्तै, राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमाँय राईलाई घरैमा पुगेर नागरिकता प्रदान गरिएको छ ।
गाउँपालिकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतका टोली उनीहरुको घरमै पुगेका थिए ।
नेपाली नागरिकताको प्रमाणपत्र पाएका उनीहरुलाई अपाङ्गता परिचयपत्र समेत घरैमा लगेर वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।
शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका जिल्लाका अन्य व्यक्तिलाई समेत उनीहरुको घरैमा पुगेर नागरिकता उपलब्ध गराउने अभियान थालिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिमध्ये श्रवण शक्ति नभएका तथा कम भएका व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा सुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरु गरिएको हो ।
श्रवण शक्ति कम भएका व्यक्तिलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरुलाई दोभाषेको सहयोगमा सहजरुपले सेवा उपलब्ध गराउन दोभाषेको व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिनुभयो।
दोभाषे सेवाका लागि तत्काललाई अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउण्डेसनमाफर्त सेवाग्राहीसँग सम्पर्क गरेर सेवा लिने/दिन व्यवस्था मिलाइएको जनाइएको छ ।