काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीय निजामती सेवासम्बन्धी विधेयक अघि बढाउन सरकारले नै ढिलाइ गर्न खोजेको आरोप लगाएको छ ।
सिंहदरबारमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले समितिमा विचाराधीन संघीय निजामति सेवा विधेयक अघि बढाउन ढिलाइ गरेको आरोप लगाउनुभयो ।
संघीय निजामति विधेयक समयमै नआउँदा संघ, प्रदेश र स्थानीय तहको काम कारबाहीमा असर परिरहेको र संघीयता कार्यान्वयनमै जटिलता देखिएको उहाँको भनाइ छ । विधेयक माथिका संशोधनकर्ता सांसद ठाकुर गैरेले कर्मचारीको सेवा प्रवेश, अवधि, दण्ड र पुरस्कार तथा सेवाग्राहीले पाउनुपर्ने सेवा लगायतमा प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
संघीय निजामति सेवा सम्बन्धी विधेयकमाथि संशोधन राखेका एक सय २४ सांसद मध्ये ९० जनाले छलफलमा भाग लिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।