सहकारी ठगी प्रकरण : जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता

पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाको मुद्दा आइतबार लगिने
पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरण : जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता

कास्की । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीसँग थप बिगो माग दाबीसहित आज कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको छ ।

सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सोही मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज प्रतिवादी जीबीसहित १९ जनालाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । गत असोज १८ मा एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ कायम गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार खोमनारायण लामिछानेले जानकारी दिनुभयो ।

१९ मध्ये १६ जनालाई सहकारी ठगीका साथै संगठित अपराध र बिगोसम्बन्धी मुद्दा थपेको छ भने जीबी राईका हकमा सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको दफा थपसहित पूरक अभियोग दर्ता भएको छ ।

प्रहरी हिरासतमा रहेका रवि, छविलाल जोशीसहित जीबीका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ । यी पाँच जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले पुस १ गते अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ ।

सो प्रतिवेदनअनुसार ५१ जना प्रतिवादीबाट एक अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि आज रवि लगायत पाँच जनाको अभियोजन दर्ता नभएको जनाइएको छ । रविसहित पाँच जनाको गत पुस २ गते अदालतले अन्तिमपटक थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जसको समयसीमा आज मध्यरातदेखि सकिँदैछ ।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् । सुरुमा पक्राउ पुर्जी जारी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement