धादिङ। देशका ६७ जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको मुग्लिङदेखि नागढुंगासम्मको सडकखण्ड आइतबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । मुग्लिङ–नागढुङ्गा सडकखण्डको विभिन्न स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले पुस ७ गतेदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सवारी साधन सञ्चालनमा रोक लगाई काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी विज्ञप्तिमा यस सडकखण्ड भएर काठमाडौं प्रवेशका लागि आउने र काठमाडौंबाट बाहिरिने सबै सवारीका साधनहरूलाई लेन अनुसारमा रहन र ट्राफिक नियमको पालन गर्न समेत सवारी चालकहरूलाई आग्रह गरिएको छ । यो सडकखण्डमा दैनिक १३ देखि १४ हजार सवारीसाधन आउजाउ गर्छन् ।
सडक बन्द गरिने समयमा बिरामी बोकेका एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी भने आउजाउ गर्नेछन् ।