काठमाडौं । नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पुन्हि नेवार समुदायको ठूलो चाडमध्ये एक हो ।
योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनु हुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।
धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा
आजै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
यसअघि नवान्नप्राशन नगरेकाले आजै गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनु भयो । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौंको चम्पादेवी, नुवाकोटको शिखरबेंसी र दुप्चेश्वर लगायत स्थानमा मेला लाग्ने गर्दछ ।