सबैको साझा बनेको पञ्चेबाजा

महिलाहरूलाई अर्थोपार्जनमा जोड्दै पञ्चेबाजा
मंसिर २५, २०८१ |शमशेरविक्रम जीसी
सबैको साझा बनेको पञ्चेबाजा

प्युठान । विवाह र चाडपर्वमा पञ्चेबाजा निकै लोकप्रिय छ । केही वर्ष पहिलेसम्म पुरुषले मात्र बजाउने पञ्चेबाजा अहिले सबै समुदायका महिला र पुरुषले बजाउँछन् । सीप सिकेर पञ्चेबाजा र नौमती बाजा बजाउनेहरू यसैको माध्यमबाट आयआर्जनमा समेत जोडिएका छन् । अझ पछिल्लो समय प्युठानमा त पञ्चेबाजा बजाउनेहरूमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।

प्युठानको मल्लरानी गाउँपालिका-२ खरिनडाँडाकी दुर्गा रानालाई पहिले आफू जस्ता महिलाले पनि बाजा बजाउँछन् भन्दा अचम्म लाग्थ्यो । महिलाहरूले घरको काम गर्नुपर्छ, चुलोचौकोको काम महिलाहरूको मात्रै हो भन्ने समाजमा हुर्किनु भएकी दुर्गा अहिले आफैं पञ्चेबाजा बजाउन सिकिरहनु भएको छ । समाजमा जात विशेष र लिंगका आधारमा कामको बाँडफाँट हुनु गलत हो भन्ने लागेर नै उहाँ पञ्चेबाजा बजाउने सीप सिक्दै हुनु हुन्छ । गाउँका दिदीबहिनीसँगै पञ्चेबाजा बजाउन सिक्दै गर्नु भएकी दुर्गा सीप सिके आयआर्जन गर्न र स्वावलम्वन हुन सहज हुने बताउनु हुन्छ ।

मल्लरानी गाउँपालिका-२ का २६ जना महिलाले अहिले पञ्चेबाजा बजाउने तालिम लिइरहेका छन् । यस पालिकाबाट थुप्रै महिलाले पञ्चेबाजाको तालिम लिइसकेका छन् । नेपाली कला संस्कृति झल्कने पञ्चेबाजाको संरक्षणसँगै आयआर्जनका लागि वडा कार्यालयले महिला सशक्तीकरण अन्तर्गत पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको हो ।

अहिले प्युठानको प्युठान नगरपालिकाको दाखाक्वाडी र जुम्रिकाढा, नौबहिनी गाउँपालिकाको खवाङ र फोप्ली तथा मल्लरानीको वडा नं २ मा महिलाहरूले पञ्चेबाजा बजाउँछन् । विवाह, मेला, पूजाआजा, देवाली, उत्सवहरूमा पञ्चेबाजाको माग उच्च छ । एक ठाउँमा पञ्चेबाजा बजाएमा समयावधि हेरेर १० देखि ४० हजार रुपैयाँसम्म सेवा शुल्क लिने गरेका छन् ।

दमाहा, झ्याली, ट्याम्का, ढालकी र सहनाई मिलेर पञ्चेबाजा सेट बन्छ । यसैको सुमधुर धुनले महिलाहरूलाई आयआर्जनमा जोडेको छ । परम्परागत रूपमा जात विशेषले बजाउँदै आएको पञ्चेबाजा अहिले सबै समुदायले उत्साहका साथ सिक्दा वर्षौंदेखि यही काम गर्दै आएकाहरू पनि खुशी देखिन्छन् ।

महिलाहरू सशक्तीकरणका माध्यमबाट समुदायमा अगुवाको रूपमा समेत उभिन थालेका छन् । यसका अलवा आयआर्जन र जीवीकोपार्जनका लागी सिलाइकटाइ, पञ्चेबाजा बजाउने जस्ता परम्परागत सीपलाई आधुनिक बनाएर अर्थोपार्जनमा सक्रिय छन् ।  


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।