झ्यालमा बाँधेको अवस्थामा अस्पतालका कर्मचारीको शव फेला

मंसिर २३, २०८१ |आरएन विश्वास
झ्यालमा बाँधेको अवस्थामा अस्पतालका कर्मचारीको शव फेला

सप्तरी । राजविराजमा एक जना अस्पतालका कर्मचारी मृत फेला परेका छन् । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाताभित्र रहेको महेन्द्र क्लबको भवनमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका कर्मचारी सुधीर झाको शव फेला परेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ गोविन्दपुर निवासी अन्दाजी ५० वर्षीय झाको शव आइतबार बिहान क्लब भवनको झ्यालमा घाँटीमा डोरीले बाँधेको र घुँडा खुम्च्याएर उभिएको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घटनास्थल पुगेको टोलीले आवश्यक मुचुल्का उठाई पोस्टमोर्टमको प्रक्रिया अगाडि बढाएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।

पोस्टमोर्टम रिपोर्ट र सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिने प्रहरी अधिकारीको भनाइ छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।