कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका - १ बिनवारीस्थित सुख्खडघाट बस्ने ४६ वर्षीय रमेश बडायक र उहाँकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या छिमेकी गंगाराम रानाले गरेको स्वीकार गरेका छन् ।
गत कार्तिक ८ गते राति उनीहरुको बीभत्स ढङ्गबाट हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटना भएको डेढ महिनापछि छिमेकी रानाले हत्या स्वीकार गरेका हुन् । बडायक दम्पतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका- २ बस्ने ५० वर्षीय रानालाई पक्राउ गरेको छ । प्रारम्भिक बयानका क्रममा उनले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेको कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।
हत्या भएको राति मदिरा सेवन गरेर बडायकको पसलमा पुगेर मदिरा माग्दा नदिएको आक्रोशमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको रानाले स्वीकार गरेको प्रहरीले जनाएको छ । मदिरा छैन भनेर तथानाम गालीगलौज गरेपछि हातपात भएर उक्त घटना भएको रानाले प्रहरी समक्ष बताएका हुन् । काठको डन्डाले रमेशलाई हिर्काएर बेहोस बनाएको र त्यसपछि त्यहीँ भेटिएको धारिलो हतियारले प्रहार गरी दुवै श्रीमान् श्रीमतीको हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । उक्त घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र प्रदेश प्रहरी कार्यालयको टोलीसँगै तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।