सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य बगाले पक्राउ

मंसिर १८, २०८१ |आश गुरुङ
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा मर्स्याङ्दी गाउँ कार्यपालिका सदस्य बगाले पक्राउ

लमजुङ । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन् । जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ की पार्टी अध्यक्ष समेत हुन् । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनु भयो । बगालेलाई बेंसीशहरको घरबाट पक्राउ गरिएको हो ।

जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारी सेवा केन्द्रको नाममा रकम हिनामिना भएको उजुरीपछि रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा सेवाकेन्द्रको अनुसन्धान गरी प्रतिवेदन तयार गरिएको थियो ।

उनी सहकारीको सञ्चालक पनि नरहेको र बचतकर्ता पनि नरहेकोमा अरूलाई प्रयोग गरेर सहकारीको रकम हिनामिना गरेको देखिएको डीएसपी श्रीवास्तवले बताउनु भयो । बगाले सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र अन्य दुई जना विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको उहाँले बताउनु भयो ।

सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरिएको हो । सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारी लगायतको संलग्नता देखिएको छ ।

वित्तीय विश्लेषक गौतमको प्रतिवेदनको सिफारिसका आधारमा उनीहरू विरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ ।

जनकल्याण बचत तथा ऋण सहकारी बेंसीशहरले आवश्यक कारबाहीको लागि पत्र काटेको थियो । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदन सहित कागजात प्रहरीलाई पठाएर अनुसन्धानका लागि अनुरोध गरेको थियो । बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने वीरेन्द्रलाई सात दिनको म्याद थप भएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement