
लमजुङ । माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात मंगलबार बिहानसम्म रोकिएको छैन । मनाङको माथिल्लो क्षेत्र ३२ सय मिटरको उचाइमा रहेको पिसाङदेखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भइरहेको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको छ । खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । सदरमुकाम चामेमा पनि पानी परिरहेको छ । चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जहाँको त्यहीँ रोकिन प्रशासनले आग्रह गरेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी पौड्यालका का अनुसार अहिले तिलिचोतर्फ बेसक्याम्पतर्फ मात्रै ८ सयदेखि १ हजारको संख्यामा नेपाली पर्यटक रहेका छन् । थोराङ्लातर्फ भने प्रायः विदेशी पर्यटक रहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा १ हजार ५ सयको हाराहारी र चामे क्षेत्रमा ३ सयको हाराहारीमा स्वदेशी पर्यटक छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका रेन्जर प्रकाश अधिकारीका अनुसार तल्लो पिसाङदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । उहाँका अनुसार मनाङमा एकसातादेखि दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् ।
प्रशासनले सोमबार एक सूचना जारी गरी मौसममको अवस्था बुझेर मात्रै यात्रा गर्न भनेको थियो । हिमपात भएपछि हिमपात नरोकिएसम्म यात्रा नगर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी पौड्यालले उद्धार गर्नुपर्ने अवस्थामा पर्यटक रहेमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।