नगरपालिकाले अलपत्र छाडेको खाल्डोमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

मंसिर १६, २०८१ |विनय आजाद
नगरपालिकाले अलपत्र छाडेको खाल्डोमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-५ बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । खाल्डोमा परेर स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको हो ।

स्थानीयका अनुसार, आइतबार बिहान पौने ९ बजे हातेकलमा पानी लिएर फर्किने क्रममा चिप्लिएर उनी खाल्डोमा खसेकी थिइन् । पानीमा डुबिरहेको देखेपछि आफन्त र स्थानीयले मिर्चैयास्थित मिर्चैया अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमोर्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनु भयो ।

स्थानीयका अनुसार, उक्त खाल्डो नगरपालिकाले नाला निर्माण गर्ने भन्दै एक वर्षअघि खनेको थियो । नगरपालिकाकै लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले अहिलेसम्म शव बुझेका छैनन् । नगरपालिका र ठेकेदारलाई कारबाही हुनु पर्ने तथा क्षतिपूर्ति पाउनु पर्ने उनीहरूको माग छ । “यो घटना नगरपालिका र ठेकेदारको लापरबाहीले भएको हो”, मृतक महिलाका श्रीमान् जीवछ महतोले भन्नु भयो, “दुबैलाई कारबाही र क्षतिपूर्ति दिनु पर्छ ।”


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement