१४ महिनादेखि अस्थायी टहरामै जाजरकोटका भूकम्पपीडित

माघ २, २०८१ |सरोज वली
१४ महिनादेखि अस्थायी टहरामै जाजरकोटका भूकम्पपीडित

जाजरकोट । भूकम्प गएको १४ महिना बितिसक्दा पनि पुनःनिर्माणमा सरकारी उदासीनता र ढिलासुस्तीले जाजरकोटका पीडितहरू अझै अस्थायी टहरामै बस्न बाध्य छन् । बढ्दो चिसोका कारण उनीहरू कठ्याङ्ग्रिएर रात बिताउन बाध्य छन् ।

रुकुम पश्चिम र जाजरकोटमा १५४ जनाको ज्यान जाने गरी जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर २०८० साल कात्तिक १७ गते भूकम्प गएको थियो । भूकम्पको १४ महिना बितिसक्दा पनि सरकारी बेवास्ताले गर्दा भूकम्पपीडित टहरामै गुजारा चलाउन बाध्य छन् ।

गत वर्ष चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ४३ जना नागरिकको ज्यान गएको थियो भने वर्षात्‌को बेला पहिरोले टहरा पुरिँदा १० जनाको मृत्यु भएको थियो ।

यसबीच संघीय सरकारले जाजरकोट भूकम्पबाट क्षति पुगेका संरचना निर्माणको प्रक्रिया अघि बढाउने बताएको छ । आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले जाजरकोट भूकम्प गएको १४ महिनापछि पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । तर जाजरकोटका २३ हजार ६९१ भूकम्प पीडितले अहिलेसम्म दोस्रो किस्ता बापतको २५ हजार रुपैयाँ पाउन सकेका छैनन् ।

भूकम्पबाट जाजरकोटमा ६७ हजार १७४ परिवार प्रभावित भएका थिए भने २४ हजार ७०७ घरमा आंशिक क्षति र ९ हजार ७९४ घर पूर्ण रूपमा क्षति भएका थिए । जाजरकोटभर ४८ हजार ५१६ लाभग्राही कायम गरिएकामा ४० हजार ४१ जनालाई पहिलो किस्ता बापतको २५ हजार रुपैयाँ वितरण गरिए पनि दोस्रो किस्ताका लागि अहिलेसम्म ३७ हजार ६९१ जना मात्रै योग्य ठहरिएका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement