सिरहा । सिरहामा मदिरा तस्करी गर्ने गिरोहको स्कोरपियो गाडीले किचेर एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नेपाल-भारत सीमा क्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करको गाडीले किच्दा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको ज्यान गएको हो ।
सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका आठ जना सुरक्षाकर्मी नेपालबाट भारततर्फ उक्त स्कोरपियोमा मदिरा गइरहेको छ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए । सोही स्कोरपियोलाई रोक्ने क्रममा बिहान ३ बजे यादवलाई ठक्कर दिएर उनीहरू भागेको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते हुनु भएका यादवलाई तत्कालै उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा उहाँलाई त्यहाँ मृत घोषणा गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताउनु भयो । यादव सिरहाकै नरहा गाउँपालिका-४ ललभितियाका बासिन्दा हुनु हुन्छ ।
हालसम्म गाडीको नम्बर भने पहिचान हुन नसकेको डीएसपी पासवानले बताउनु भयो । उक्त गाडीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।