काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका कारण नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल हेर्न नपाउने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले चीन भ्रमणको तयारी गर्नु परेकाले खेल हेर्न नपाउने उल्लेख गर्नु भएको हो ।
“कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदै छ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ। एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स, सबै टोलीलाई शुभकामना । सबै खेलाडीलाई सम्झेको छु है”, प्रधानमन्त्रीले बताउनु भयो ।
प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनु हुन्छ ।