रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

मंसिर ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको हो । लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरी स्रोतले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको छ ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.