काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्न १० घण्टा बन्दभएपछि ३५ प्रतिशत उडान कटौती भएसँगै बढेको हवाई भाडा तत्काल नलिने सहमति भएको छ ।
हवाई टिकटको सहज उपलब्धता र सर्वसुलभ बनाउन भन्दै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका प्रतिनिधि, ट्राभल एजेन्सी र नेपाल सरकारका प्रतिनिधिबीच आज हवाई भाडा तत्काल नबढाउने सहमति भएको हो ।
सहमति अनुसार वायु सेवा कम्पनीले एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा दिएको टिकट बिक्रीको अधिकार खारेज गरिएको छ । यसैगरी उपभोक्तालाई मर्कापर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने, वायु सेवा कम्पनीले हवाई भाडा तोक्ने र सूची सार्वजनिक गर्ने, तोकिए बमोजिम मात्रै हावाई भाडा लिने जस्ता विषयमा सहमति भएको छ ।
छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपाल स्थित विदेशी वायु सेवा कम्पनीका प्रतिनिधि र ट्राभल एजेन्सीहरु रहेका थिए । सहमति उल्लङ्घन गरे नेपाल नागरिक उड्डयन प्राधिकरणामा उजुरी गर्न समेत सकिने छ ।