काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले 'वर्ल्ड अर्बान फोरम'मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्यूनीकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्ने कुरालाई जोड दिएको बताउनुभएको छ ।
इजिप्टको कायरोमा वर्ल्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनु भयो । उहाँले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रस्तुति सशक्त भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायु अनुकूलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, 'जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो सहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पुर्याउने कुरामा जोड दिएको छु ।’