रुपन्देहीमा राजस्व छलेर राखेको चिनी बरामद गरेर फर्किएको राजस्व र सशस्त्रको टोलीमाथि ढुंगामुढा

कार्तिक २३, २०८१ |अमृता अनमोल
रुपन्देहीमा राजस्व छलेर राखेको चिनी बरामद गरेर फर्किएको राजस्व र सशस्त्रको टोलीमाथि ढुंगामुढा

रुपन्देही । राजस्व छलेर घरमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गर्ने क्रममा रुपन्देहीमा सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित एक घरमा स्थानीयले बिहीबार साँझ ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल सुरक्षा बेस लुम्बिनीको ना१झ १४७७ नम्बरको गाडीको दायाँतर्फका दुईवटा झ्याल फुटेका छन् । 

सशस्त्र प्रहरी बल २७ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी राजस्व इकाई बुटवलमा कार्यरत जवान चन्द्रमा पाण्डेको दायाँ हातमा चोट लागेको छ । 

सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरका अनुसार राजस्व छलेर चिनी भण्डारण गरिएको सूचनाका आधारमा बिहीबार साँझ खानतलासीका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको राजस्व प्रहरी इकाईबाट खटिएको टोली छापा मार्न पुगेको थियो । टोलीलाई करिब २ सय स्थानीयले बाटोमा अवरोध सिर्जना गरेर आक्रमण गरेका हुन् ।

एसपी थापाका अनुसार राजस्व अनुसन्धान अधिकृत राजबहादुर विष्ट र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको टोलीमाथि आक्रमण गरिएको हो ।

राजस्व र सशस्त्र प्रहरीको टोलीले लुम्बिनी सांस्कृतिक–२ स्थित दीलीप लोधको घरमा छापा मारेर १ सय १२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा आक्रमण भएको थियो । नियन्त्रणमा लिएको चिनी लुटपाट गर्ने मनसायले ढुंगामुढा गरेको प्रहरीको अनुमान छ ।

आक्रमणको खबरलगत्तै सदरमुकाम भैरहवाबाट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्षक थापा र बुटवलस्थित प्रमुख राजस्व अनुसन्धान अधिकृत विवेक घिमिरेसहित ७० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले भीड तितरबितर पारेर बरामद चिनी, सवारी साधन, सुरक्षाकर्मी र कर्मचारीलाई सुरक्षित फिर्ता ल्याएको थियो ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement