मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना

सहकारीका ऋणीको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको पुष्टि
सञ्चालक समितिको कागजात नै गायब
आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड रुपैयाँ हिनामिना

मोरङ । मोरङको धनपालथान गाउँपालिका-४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाले सर्वसाधारणको करोडौँ रुपैयाँ ठगेको पाइएको छ । १८ करोड ५१ लाख रुपैयाँ पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको पाइएको हो । सहकारीका सञ्चालकले ऋणी सदस्यको सम्पत्ति बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेला परेको हो । यो ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल दम्पती पनि जोडिएका छन् ।

उमागौरी कृषि सहकारी संस्था अहिले बन्द छ । शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा रौनियारले संस्थाका सञ्चालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । धनपालथान चारका नारायण खनालले १० लाख रुपैयाँ सहकारीबाट ऋण लिएर २२ किस्ता तिरिसक्नुभएको छ । सहकारीको कारोबार रहेको नबिल बैंकले सदस्यहरूको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको भन्दै पीडित खनालले आफू दोहोरो मर्कामा परेको गुनासो गर्नुभयो । 

यस्तै अर्का ऋणी सेराज अन्सारीले सहकारीबाट दुई लाख ऋण निकालेर एक लाख ८० हजार तिरिसकेको भए पनि बैंकले भने १० लाख ऋण लगेको भनेर बारम्बार फोन गरेर तनाव दिएको बताउनुभयो । सहकारीले आफ्नो कागजपत्र राखेर बैंकबाट १० लाख ऋण निकालेको उहाँको दाबी छ ।

अध्यक्ष रौनियारले बाहिर हल्ला भएजस्तो समस्या नभएको दाबी गर्दै समस्या समाधान गर्ने प्रयास भइरहेको जिकिर गर्नुभयो । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । 

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको नाम पनि सहकारी ठगी प्रकरणमा जोडिएको छ । 

सहकारी सञ्चालकमध्ये एक पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि हुनुहुन्छ । सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण अञ्जलाको नाम अहिले कालोसूचीमा छ । अञ्जलाले भने सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गर्नुभयो । सम्पूर्ण कारोबार अध्यक्ष शम्भुप्रसाद रौनियार र सांसद ऋषिकेश पोखरेलबीचको सल्लाहमा हुने दाबी गर्दैँ अञ्जला आफूले हस्ताक्षर मात्रै गर्ने जिकिर गर्नुहुन्छ ? 

उमागौरीमाको अनियमितता अन्य सहकारीको भन्दा फरक रहेको सहकारी कार्यालयले जनाएको छ । सहकारीका ऋणी सदस्यहरूको सम्पत्ति बैंकमा धितो राखेर राखेर सञ्चालकले ऋण निकालेको, पछि ऋणीले सहकारीमा ऋण बुझाएको तर सञ्चालकले बैंकमा नबुझाइ दिँदा सदस्यहरू दोहोरो ऋणी भएको निचोडमा सहकारी रजिस्ट्रार कार्यालय पुगेको छ । 

सहकारी रजिस्ट्रार कार्यालयको रेकर्डमा उमागौरी सहकारी सञ्चालक समितिको डकुमेन्ट नै गायब भएको खत्रीले बताउनुभयो । ०६८ सालमा स्थापना भएको सहकारीको तदर्थ समितिको डकुमेन्टपछि २०७८ सालको सञ्चालक समितिको डकुमेन्ट मात्रै कार्यालयमा उपलब्ध छ । १० वर्षे अवधिको सञ्चालक समितिको विवरण र कागजात छैन । यसबाट पद र पहुँचको दुरुपयोग गरी गरिब निमुखाले दुखजिलो गरी जम्मा गरेको बचतमा शक्तिको आडमा हिनामिना गरेको प्रस्ट भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.