कस्तो छ काठमाडौंमा छठको तयारी ?

कार्तिक २०, २०८१ |भरत रावल
कस्तो छ काठमाडौंमा छठको तयारी ?

काठमाडौं । संघीय राजधानी काठमाडौंमा पनि छठको तयारी अन्तिम चरणमा पुगेको छ । नदी, पोखरी सरसफाई गर्नेदेखि बजारमा चहलपहलसमेत बढेको छ ।

काठमाडौंका कमलपोखरी, गुह्येश्वरी, थापाथलीस्थित बागमती नदी किनार, टेकु दोभानलगायतका ठाउँमा छठ घाट सजिसजाउ गर्ने काम जोडतोडका साथ भइरहेको छ । अर्कातिर कालिमाटीमा छठ पर्वलाई आवश्यक पर्ने सामान खरिद गर्नेको भिड छ ।

किसानले उत्पादन गरेका सामान ल्याएर व्यापारीले छठका लागि बिक्रीवितरण गरिरहेका छन् । केरा, उखु, भोगटे, सुन्तला, पानी फल, सखर, अदुवा, बेसार जस्ता छठका लागि अत्यावश्यक सामग्री किन्न मानिसको घुइँचो छ । छठ पर्वमा भाकल अनुसार श्रद्धालुले फरक-फरक समान चढाउने चलन छ ।

छठको मुख्य दिन उखु, केरा, अदुवा, वेसार, मुला, तरुल, सखरखण्ड, भोगटे, कागती जस्ता वस्तुलाई बाासको टोकरीमा राखेर घाटमा लगेर सूर्यलाई चढाउने गरिन्छ । यस्ता धेरैजसो सामग्री तराईका जिल्लाबाट ल्याउने गरिएको छ ।

काठमाडौं महानगरपालिकाले छठ घाटहरुको सरसफाइ गरिसकेको छ । अहिले घाटहरु सजाउने क्रम जारी छ । घाटहरुमा एकै साथ धेरैभन्दा धेरैले पूजा गर्न सक्ने गरी व्यवस्था मिलाइँदै छ । कमल पोखरीमा मात्रै एकैसाथ २ सय ६० जनाभन्दा बढीले पूजा गर्न सक्ने गरी व्यवस्था मिलाइँदै छ ।

मंगलबारदेखि नै छठको ब्रत लिनेहरुले नुहाइ धुवाइ गरेर चोखो खान सुरु गरिसकेका छन् । चार दिनसम्म मनाइने छठको मुख्य दिन बिहीबार हो ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement