काठमाडौं । विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्दै आएको सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले अबदेखि अन्य सरकारी कागजपत्रसमेत छाप्ने भएको छ । सरकारले जनक शिक्षाको सुरक्षित मुद्रण प्रेसमा हुलाक टिकट, जग्गाधनी पूर्जा र भिसा स्टिकर छपाइ गर्न दिने निर्णय गरेको हो ।
यसले सरकारी कागजात छपाइमा बर्सेनि ठूलो रकम विदेशिनबाट जोगिने छ । त्यति मात्र नभएर नेपाली संस्था नै महत्वपूर्ण कागजात छपाइमा सक्षम छन् भन्ने देखिने छ ।
जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहको कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण गर्दै आएको छ । जनक शिक्षाको व्यवस्थापकीय पक्ष र जनशक्ति व्यवस्थापन सुधार हुँदै गएपछि सरकारले नागरिकको दैनिक जीवनमा प्रयोग हुने हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्ट्रिकरसमेत छपाइको जिम्मा पाएको छ । तीनवटा सुरक्षा घेरामा जनक शिक्षाको सेक्युरिटी प्रेसमा ती सामग्रीको छपाइ हुने छ । यसअघि यस्ता कागजात छाप्न विदेश पठाउने गरिएको थियो ।
जनक शिक्षा सामग्री केन्द्रमा स्थायी, करार र ज्यालादारी गरी ४ सय कर्मचारी छन् । जनक शिक्षामा सेक्युरिटी प्रेससहित अत्याधुनिक छपाइ, बाइन्डिङ र कटिङ गर्ने दुई दर्जनभन्दा धेरै मेसिन छन् । केन्द्रले निर्वाचनको मतपत्रदेखि प्रश्नपत्र, अन्तशुल्क स्टिकर, आन्तरिक राजस्वका स्टिकरसमेत छापिसकेको छ ।
अब थप कागजात छाप्न दिने निर्णयले संस्थालाई अझ सबल बनाउने छ । जनक शिक्षाले नोट समेत छाप्न सक्ने क्षमता आफ्नो रहेको दाबी गरेको छ ।
कमजोर व्यवस्थापनका कारण नेपालका सार्वजनिक संस्था एकपछि अर्को धरासायी हुँदै गएको अवस्थामा जनक शिक्षा भने सुधारको बाटोमा गएको छ । पछिल्ला तीन वर्षमा ७१ करोड रुपैयाँ मुनाफासमेत कमाउन सफल भएको छ ।