तलब भत्ता नदिएको भन्दै विद्यालय नै बन्द गरेर सप्तरीको कंकालिनीका शिक्षक धर्नामा

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
तलब भत्ता नदिएको भन्दै विद्यालय नै बन्द गरेर सप्तरीको कंकालिनीका शिक्षक धर्नामा

सप्तरी । चालु आर्थिक वर्षको चौथो महिना चलिरहँदा पनि तलब भत्ता नदिएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् ।

शिक्षकहरूले नगरपालिका मातहत सबै ३० वटै विद्यालय बन्द गरेर नगरपालिका कार्यालय अगाडि तलब भत्ता माग्दै धर्ना बसेका हुन् । पालिकाभरका २ सय २० जना शिक्षक विद्यालय बन्द गरेर धर्ना बसेपछि ७ हजार ८ सय विधार्थी पढ्न पाउनुपर्ने अधिकारबाट बञ्चित भएका छन् ।

नगरपालिकाका जनप्रतिनिधिबीचको किचलोले नगरसभा अझै हुन सकेको छैन । जसकारण चालू आर्थिक वर्षको बजेट नआउँदा पालिकाका शिक्षक मात्रै नभइ अरू सबै कर्मचारीहरूले गत साउनदेखि तलब भत्ता पाउन नसकेका हुन् ।

शिक्षकहरूको आन्दोलनमा नगरपालिका अरु कर्मचारीहरुले पनि साथ दिएका छन् । नगरसभा नभएकै कारण वृद्धवृद्धासहितका लक्षितवर्गले समाजिक सुरक्षा भत्ता पाएका छैनन् । नगरप्रमुख वीरेन्द्रकुमार माझीले नगरसभाका लागि आफू गम्भीर रहेको र जनप्रतिनिधिबीच सहमितको प्रयास भइरहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.