विलासिताका सामानको आयात बढ्यो, विकास निर्माणतर्फको आयात भने खुम्चियो

आश्विन २६, २०८१ |सुदिल पोखरेल
विलासिताका सामानको आयात बढ्यो, विकास निर्माणतर्फको आयात भने खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशबाट हुने आयात गत वर्षको तुलनामा सामान्य वृद्धि भएको छ । तर विकास निर्माणका लागि आवश्यक सामग्रीको आयात बढेको छैन । अझ कच्चा पदार्थ फलाम तथा स्टिलको आयात त झनै घटेको छ । 

चालु आर्थिक वर्षको साउन र भदौको आयात गत वर्षको भन्दा केही सुध्रिएको छ । खाद्यान्न तथा विलासिताको सामान आयात हुनु राम्रो मानिँदैन । विकास निर्माणका लागि आवश्यक सामग्री र औद्योगिक कच्चा पदार्थको आयातलाई भने राम्रो मानिन्छ । तर, फलाम तथा स्टीलको आयात गत वर्षको भदौसम्म ४४ अर्बको भएकोमा यो वर्षको सोही अवधिमा २१ अर्बमा सीमित भएको छ । त्यस्तै मेसिनरी तथा उपकरणको आयात गत वर्षको भदौसम्म १८ अर्ब ४० करोडको हाराहारीमा भएकोमा यो वर्षको सोही अवधिमा १८ अर्ब ७० करोडको मात्रै भएको छ ।

चालु आर्थिक वर्षमा सवारी साधनको आयात बढेको छ । गत वर्षको पहिलो दुई महिनामा १० अर्ब ८० करोडको सवारी आयात भएकोमा यो वर्षको सोही अवधिमा १६ अर्ब ७० करोडका सवारी साधन भित्रिएका छन् । विद्युतीय सामग्री प्रवर्द्धन गर्दै पेट्रोलियम आयात घटाउने नीतिमा भने ठेस लागेको छ । गत वर्षको दुई महिनामा २६ अर्बको पेट्रोलियम आयात भएकोमा यो वर्षको सोही अवधिमा ४३ अर्बको भएको छ । तरकारी तथा फलफूलको आयातमा कमी आएको छ । मागमा कमी आएकाले खाद्यान्नको आयात घटेको आकलन विज्ञको छ । 

भदौसम्म आयातको अवस्था हेर्दा गत वर्षको तुलनामा १ प्रतिशत बढेको छ । अलैंची, चिया तथा कफीको निर्यात बढ्दा पनि समग्र निर्यात ५ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी वस्तुको उत्पादन बढाउन नसक्दा निर्यात बढाएर मुलुकले अझै लाभ लिन सकेको छैन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement