‘दशैंमा सबै गाउँ फर्की आए, घरै भरिलो भयो...’

आश्विन २६, २०८१ |महेश केसी
‘दशैंमा सबै गाउँ फर्की आए, घरै भरिलो भयो...’

रुकुमपूर्व । सिस्ने गाउँपालिका-३ पोखरास्थित धनबहादुर खत्रीको घरमा यतिबेला गजबको चहलपहल छ । ९ वर्षअघि परदेश गएका साइँला छोरा र उनको परिवार दशैंको छेको पारेर घर फिरेपछि दशैं आएर भन्दा छोरा आएर खुसी मिलेको धनबहादुर बताउनु हुन्छ । 

‘चाडबाड त दशैं मात्रै होइन अरू पनि धेरै आउँछन् । तर छोराछोरी आउँदैनन् अनि ती चाडबाड पनि सुख्खा लाग्छन् ।’ नातिलाई काखमा राखेका धनबहादुर भन्नुहुन्छ, ‘यसपालि साइँलो छोरो, बुहारी र माइली बुहारी अनि नातिनातिना आए, हामीलाई त यसै दशैं आएको जस्तो भएको छ ।’

यसप्रकारको उमंग यतिबेला गाउँभरी नै छ । यता महेन्द्र केसीको परिवारमा पनि दुई छोरा, बुहारी अनि छोरी-ज्वाई आएका छन् । ‘अघिपछि हामी दुई जना (श्रीमती र आफू) मात्रै हुन्थ्यौं । दशैंमा सबै आए घर भरिलो भयो ।’ हसिलो चेहराका साथ उहाँ थप्नुहुन्छ, ‘सियाली लागेको घरको छेउकुना र आगन सफाचट देखिएको छ । अनि रित्ता र सुनसान भएका कोठाचोटामा नातिनातिना रमाएका छन् । रमाइलो छ ।’

वर्षका अरू दिन मेलापातमा व्यस्त रहने पहाडी गाउँहरुमा चहलपहल बढेसँगै यी बस्तीहरू गुलजार देखिएका छन् । कतै छ पिङको चाचाहुईं... त कतै छ आफन्त अनि साथीभाईको जमघाट । आफू जहाँ भएपनि दशैंको छेको पारेर घर आइपुग्ने सिस्ने-५ रुकुमकोटकी सुलोचना गौतम बताउनु हुन्छ । ‘अघिपछि पढाइका सिलसिलामा काठमाडौं भइन्छ । तर दशैंमा त जसरी पनि घर आउने अनि रमाइलो गर्ने । यो हाम्रा लागि ठूलो अवसर बनेको छ ।’ उनले उहाँले भन्नुभयो ।

यसरी विभिन्न बहानामा दशैंमा घर फर्केकाहरु प्रायःलाई आफन्त र घरपरिवार भेट्ने कुरामा नै विशेष रुचि छ । यसबाहेक कोही चाहिँ नयाँ पुस्तक पढ्ने, चलचित्र हेर्ने अनि गाउँघर घुम्ने गरिरहेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-२ पिपलका टेकराज पौडेल भन्नुहुन्छ, ‘मलाई भिडियो र फोटोमा विशेष रुचि छ । यसैलाई नै प्रोफेसन बनाएको छु । यस कारण घरमा बसेका बेला पनि वरिपरि घुमेर फोटो-भिडियो खिच्ने काम गरिरहेको छु ।’

त्यस्तै रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका अनन्त ओली आफू ५ वर्षपछि घर फर्केको बताउँदै गाउँको विकास र परिवर्तनलाई नियालिरहेको बताउनु भयो । ‘पहिले बाटो नभएको ठाउँमा अहिले मोटर कुद्ने बाटो बनेको रहेछ । बिजुलीको उज्यालो प्रायः सबैतिर फैलिएको रहेछ । पाँच वर्षमा विकासले त फट्को मारेछ ।’ उहाँ भन्नुहुन्छ, ‘तर गाउँको चोक-चौतारी र पुराना चिजबिजहरू भने हराउँदै जान थालेको देख्दा दुःख लाग्यो ।’

वर्षदिन देखी दशकौंसम्म घर नफर्किएकाहरू घरमा आएका छन् । यस कारण यतिबेला गाउँ चलायमान देखिएको छ । यो दशैंका बेला घर भरिलो भएको छ भने, परिवार बलियो बनको छ । यस कारण दशैंसँगै गाउँ फिरेकाहरू कोही दशैं लगत्तै फर्केर जाने सुरमा छन् त कोही तिहार सकेर फर्किने योजनामा छन् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement