१४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् दावा याङ्जुम शेर्पा

आश्विन २३, २०८१ |सुदिल पोखरेल
१४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् दावा याङ्जुम शेर्पा

काठमाडौं । हिमाल आरोहणका क्षेत्रमा आज दुई वटा नयाँ कीर्तिमान कायम भएका छन् । ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गर्ने पहिलो महिला दावा याङ्जुम शेर्पा बन्नुभएको छ । त्यस्तै सबैभन्दा कम उमेरमा चौधवटा हिमाल आरोहण गर्ने निमा रेन्जा शेर्पा हुनुभएको छ । 

२०४७ सालमा दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएकी दावा याङ्जुम शेर्पाले १९ वर्षको उमेरमा आरोहणसम्बन्धी तालिम सम्पन्न गरेपछि त्यसको दुई वर्षमै सन् २०१२ मा सबैभन्दा कम उमेरमै सगरमाथाको सफल आरोहण गर्ने महिला बन्नुभयो । ८ हजार मिटरभन्दा माथिको अर्को हिमाल मकालु सन् २०१९ मा सफल आरोहण गर्न सफल भएकी शेर्पाले बुधबार विश्वमा रहेका ८ हजारमाथिका सबै हिमालको आरोहण गर्न सफल हुनुभएको छ । शेर्पाले बुधबार बिहान चीनको सिसापाङ्गमा हिमालको आरोहण गरेर ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने पहिलो नेपाली महिला बन्नुभएको हो ।

बुधबार बिहान नै १८ वर्षीय निमा रिन्जी शेर्पाले पनि चीनको सिसपाङ्गमा हिमाल आरोहण गर्नुभएको छ । उहाँ विश्वकै कम उमेरमा १४ वटा हिमालको आरोहण गर्ने पहिलो व्यक्ति बन्नुभयो । १६ वर्षमा ८ हजार मिटरभन्दा माथिको मनास्लु हिमाल आरोहण गरेका शेर्पाले बुधबार सिसापाङ्गमा हिमाल आरोहण गर्नुभएको हो । त्यसैगरी अक्सिजन सिलिन्डर बिना नै बिश्वका ८ हजारमाथिका हिमाल आरोहण गर्ने भने मिङ्मा शेर्पा हुनुभएको छ । उहााले ५ दिनअघि सिसापाङ्मा हिमाल आरोहण गर्नुभएको थियो ।

एक सातामै नेपालभित्रका दुई र विश्वस्तरमा हिमाल आरोहणमा नेपालले एउटा उपलब्धि थप गरेको हो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement