भक्तपुर । काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा उत्पादन हुने धानबाट बन्ने चिउरा देशैभरि प्रख्यात छ । चाडबाडका बेला होस् वा अन्य समयमा, काठमाडौंमा उत्पादन हुने चिउराको माग सधैं रहने गर्छ । त्यसमाथि भक्तपुरको ताइचिन चिउराको स्वाद बेग्लै छ । यसकारण पनि ठूला चाडबाडका बेला भक्तपुरका व्यवसायीलाई चिउरा बनाउन भ्याइनभ्याइ नै हुन्छ ।
विषेशगरि नेवार समुदायमा दशैँ अवधिभर भोज र समेबजीका लागि चिउरा नभई नहुने परिकार भएका कारण पनि यसको माग उच्च हुने गरेको हो । भक्तपुरमा मात्रै दैनिक २० टन ताइचिन चिउरा उत्पादन हुने गरेको छ । तर बढ्दो प्लटिङ् र उत्पादन बढाउने नाममा विकासे धान लगाउन थालेपछि भने ताइचिन धान पाउनै मुस्किल हुन थालेको छ ।